गण्डकी प्रदेश, लमजुङ जिल्ला, सुन्दरबजार नगरपालिका, विष्णुवाटिका, चन्द्रेश्वर, दुराडाँडामा अवस्थित श्री सर्वोदय माध्यमिक विद्यालय यस क्षेत्रको मात्र नभई देशकै गौरवमय
इतिहास बोकेको विद्यालय हो । वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् देशमा बढेको शैक्षिक जागरण तथा समाज रूपान्तरण अभियानसँगै १२ सदनलाई पृष्ठभूमि
बनाई नेपालकै सुन्दर, रमणीय र ऐतिहासिक स्थल दुराडाँडामा विं.सं. २००९ सालमा स्थापित यो विद्यालय शैक्षिक क्षेत्रको उन्नयनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विद्यालय हो ।
वि.सं २०१८ सालमा पहिलो पटक विद्यार्थीहरूलाई प्रवेशिका परीक्षामा समावेश गराउन सफल यस विद्यालयमा देशको शिक्षा नीति तथा समाजको माग र आवश्यकता अनुसार
वि.सं. २०४९ देखि कक्षा ११ र १२ को पठनपाठन सुरुवात भयो । स्थापना कालदेखि नै विभिन्न आरोह अवरोह पार गर्दै निरन्तर अगाडि बढिरहेको यो विद्यालयमा वि.सं २०६९
सालमा प्राविधिक शिक्षा प्रदान गर्ने ध्येयले CTEVT बाट सम्बन्धन लिई बिहानी सत्रमा Pre-Diploma in Computer Engineering र वि.सं. २०७२ देखि Diploma in Computer Engineering
कार्यक्रम सञ्चालन भयोे । यस विद्यालयमा हाल साधारण धारतर्फ दिवा सत्रमा कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठ भइरहेको छ भने बिहानी सत्रमा प्राविधिक धारतर्फ
Pre-Diploma in Computer Engineering कार्यक्रम सञ्चालन भइरहेको छ । देशको परिवर्तित अवस्था, समयको माग र समाजको आवश्यकता अनुसार गुणस्तरीय
शिक्षा प्रदान गर्दै अगाडि बढिरहेको यो विद्यालय हाल यस क्षेत्रकै लिडर सामुदायिक विद्यालयका रुपमा पनि परिचित छ । प्रविधिमैत्री शिक्षणलाई प्राथमिकतामा राखी
समय सापेक्ष विविध कार्यक्रम गर्दै अगाडि बढिरहेको यस विद्यालयलाई भौतिक पूर्वाधारमा अब्बल बनाई तथा प्रशासनिक चूस्तताको तिव्र विकास गरी अनि समय सापेक्ष
गुणस्तरीय र सिपयुक्त शिक्षा प्रदान गरी भविष्यमा देशकै धरोहर बनाउन हामी सबै एकजुट हुनु अहिलेको आवश्यकता बनेको छ । यस क्षेत्रका तत्कालीन व्यक्तित्वहरूमा
पलाएको शैक्षिक जागरण, समाज रुपान्तरणको अभियान र उहाँहरूमा रहेको दुरदृष्टि/महान् सोचको परिणाम स्वरूप जन्मिएको सर्वोदय माध्यमिक विद्यालयले पूर्वजहरूले
स्थापित गरेको सर्वोदयको विरासतलाई आधुनिक समयानुकूल उचाइमा पुर्याउन निरन्तर प्रयास गरिरहेको पनि छ । अन्त्यमा जुनजुन व्यक्तित्वहरूको अथक प्रयासले विद्यालयको स्थापना भयो र जजसले विद्यालययलाई अथक परिश्रम गरी यहाँसम्म ल्याई पुर्याउन योगदान पुर्याउनु भएको छ, उहाँ (अग्रज) हरूप्रति उच्च सम्मान गर्दै आभार प्रकट गर्न चाहन्छु । यस विद्यालयका संस्थापक, जग्गादाता, अक्षयकोषदाता, यसै विद्यालय विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् सदस्यहरू, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष एवम् सदस्यहरू,
पूर्व प्र.अ.तथा शिक्षकहरू लगायत विद्यालयमा गठित वर्तमान समितिहरू, शिक्षक कर्मचारी विवरणका साथै विद्यालयसँग सम्बन्धित विविध विवरणहरूलाई विद्यालयको यसै वेवसाइडमा समेटिएको छ । यस वेबसाइटमा समेटिएका कुराहरुमा कुनै त्रुटी भएमा वा कुनै कुरा समावेश गर्न छुट भएमा यहाँहरूको सल्लाह एवम् सुझाव अनुसार सच्याउदै जाने र अन्य विवरणहरू पनि क्रमशः थप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद ! जय सर्वोदय !
कृष्णप्रसाद पोखरेल
प्रधानाध्यापक