श्री सर्वोदय माध्यमिक विद्यालयको स्थापना विं.सं. २००९ सालमा लमजुङ जिल्लाको ऐतिहासिक स्थल दुराडाँडामा भएको हो । विद्यालयको पृष्ठभूमि स्मरण गरिरहदा सर्वप्रथम विद्यालय परिवार विद्यालय स्थापनाकालका संस्थापक अध्यक्ष स्व.श्रीकान्त अधिकारी, विद्यालयका सेक्रेटरी स्व.विष्णुभक्त पौडेल लगायतका व्यक्तित्वहरु यसैगरी विद्यालका पूर्वअध्यक्षहरू स्व.डम्बर बहादुर क्षेत्री, स्व.निर्मल अधिकारी, स्व.लेखमणि अधिकारी, पूर्व माननीय स्व.हरिभक्त अधिकारी लगायतका व्यक्तित्वहरु साथैै पूर्व प्र. अ. हरु स्व.इन्द्रविलास अधिकारी, स्व.भीष्मकान्त अधिकारी, स्व.ठाकुरप्रसाद छाँगा, स्व.प्रा.डा. इन्द्र विलास अधिकारी लगायतका व्यक्तित्वहरु जसले विद्यालयको स्थापना गरी विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन अतुलनीय योगदान पुर्याउनु भएको छ उहाँहरुप्रति श्रद्धासुमन अर्पण गदर्छौँ । साथै विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन अथक प्रयास गर्नुहुने वि.व्य.स.का पूर्व अध्यक्ष तथा सदस्यहरु, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा सदस्यहरु, पूर्व प्र.अ. तथा शिक्षकहरु लगायतका सम्पूर्ण व्यक्तित्वहरूप्रति उच्च सम्मान गदछौँ ।
देशमा प्रजातन्त्रको अभ्युदयसँगै वि.सं. २००९ सालमा महात्मा गान्धीको सर्वोदय सिद्धान्तअनुसार स्थापना भइ आजका मितिसम्म हामी सबैको भाग्य रेखा कोर्ने यस सर्वोदय माध्यमिक विद्यालयले भर्खरै ७३ औं वार्षिकोेत्सव तथा ५४ औं अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरिसकेको छ । १२ सदनको जगमा स्थापित यो विद्यालय प्रगतिको यो विन्दुसम्म आइपुग्नुमा हाम्रा कर्मशील, शिक्षाप्रेमी अग्रजहरु, राष्ट्रिय एवम् अन्तराष्ट्रिय क्षेत्रमा क्षमता, सीप, कला तथा कौशल प्रदर्शन गरी ख्याति कमाइराख्नु भएका उपजहरु एवम् शुभेच्छुकहरुको अथक प्रयास र सहयोगको परिणाम हो । विद्यालयको लागि यो गौरवको विषयमात्र नभई हाल विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी एवम् सञ्चालकहरुको लागि प्रेरणाको स्रोत पनि हो । विद्यालयको ऐतिहासिक पक्षलाई स्मरण गर्दा भारतको मुम्बईमा अंग्रेजी शिक्षा हासिल गर्नु भएका कोमल गीताका अनुवादक पं. कोमलनाथ अधिकारीले वि.सं. १९७१ तिर स्वाँराको आफ्नै घरको वेल चौतारिमा विद्यार्थीहरुको समूह जम्मा गरी पढाइ सुरुवात गर्नु, दुराडाँडा बरवोटका साहु भवदत्त ओडार खनियाले वि.सं. १९७२ तिर पं. टिकारामलाई आफ्नै घरमा सम्मानका साथ राखी टाढा टाढाबाट विद्यार्थीहरुलाई आकर्षण गरी दुराडाँडालाई त्यसैबेलाको शिक्षाको केन्द्र बनाउनु, स्वाँराकै उदयनाथ अधिकारीले सर्वप्रथम आफ्नै घरमा अङ्ग्रेजी पढाउन सुरु गर्नु आदि पूर्वजहरुका सवै शैक्षिक सत्कर्म नै सर्वोदय माध्यमिक विद्यालयको जगका पूर्वाधारहरु हुन् ।
वि.सं. २००६ सालको दुराडाँडाको सामाजिक हलोक्रान्ति, २००७ सालको राजनैतिक परिवर्ननपछि मुठीदान र श्रमदानबाट हाइस्कूल स्थापना गर्न आन्दोलन चलाउने, दुराडाँडा क्षेत्रमा वि.सं. २००८ सालमा एकैपटक १२ वटा सदन पाठशालाहरुको स्थापनादेखि वि.सं.२०४९ सालमा ११ र १२ कक्षा स्थापना र सञ्चालनको नेतृत्व लिनुुहुने विद्यालयका संस्थापक अध्यक्ष स्व.श्रीकान्त अधिकारी, विद्यालयको अवस्था राम्रो नहुँदासम्म स्वयम्सेवकको रुपमा पढाउन प्रण गर्ने स्व. भीष्मकान्त अधिकारी र अन्य स्वयम्सेवक शिक्षकहरू, १२ सदन विद्यालयको नामाकरण गर्ने शिक्षा प्रचारक हलो क्रान्तिका नायक समाजसेवी पं.तोयनाथ अधिकारी, स्व.ले.शेषकान्त अधिकारी, “मेरो काजकिरिया गर्दा लाग्ने खर्च किरिया नगरी सर्वोदयलाई चन्दा दिनु’’ भनी घोषणा गर्ने स्व.कृष्णप्रसाद न्यौपानेका साथै सम्पूणर् दुराडाँडावासीहरुको भगिरथ प्रयत्नबाट तिनै १२ सदनहरुको जगमा वि.सं.२००९ साल कार्तिक २० गते मिडिल स्कूल को रूपमा स्थापना भई सर्वोदय माध्यमिक विद्यालय हुर्केको हो । वि.सं. २०११ साल पौष ०६ गते यस विद्यालयलाई शिक्षा विभागबाट अस्थायी स्विकृति प्राप्त भएको सर्वोदय मा.वि. पश्चिम नेपालको माध्यमिक विद्यालयहरुमा अंग्रेजी विषयको पढाइहुने सरकारबाट स्वीकृत प्राप्त पहिलो विद्यालय बन्न पुग्यो । वि.सं. २०११ सालमा सर्वोदय हाइस्कूलको विद्यालय भवन निर्माणका लागि स्व.मु.हरिभक्त पौडेलले आफ्ना छोरा स्व.विष्ण्ुाभक्त पौडेलको चिर स्मृतिका लागि विद्यालय हाताको जग्गा विष्णु वाटिकाको नाउँमा प्रदान गर्नु भएकोले उहाँप्रति विद्यालय परिवार सम्मानका साथ आभार प्रकट गर्दछ । जग्गादाता स्व. लीलाकान्त खनियालाई पनि विद्यालय परिवार स्मरण गर्न चाहन्छ । भवन निर्माणका लागि तत्कालीन नेपाली काँग्रेसका नेता स्व.सुवणर् शमशेर ज.ब.रा. ले दिनुभएको चन्दा दान र बर्माबाट चन्दा संकलन गरी ल्याउनुहुने चिप्लेटी निवासी स्व.बुद्धिसागर नेउपानेकै नामबाट स्थापित “बुद्विसागर जानुका स्मृति अक्षयकोष” का साथै स्व.मनोरथ तिवारी र संस्थापक सदस्य स्व.वेदशर्मा खनालले पुर्याउनुभएको योगदान पनि उल्लेखनीय छ । वि.सं. २०१८ सालमा पहिलो पटक यस विद्यालयबाट विद्यार्थीहरु एस्.एल्.सी. परीक्षामा सहभागी भएका थिए । २०१८ सालदेखि निरन्तर विभिन्न आरोह अवरोह पार गर्दै वि.सं. २०३३ सालमा ऐतिहासिक कार्यक्रमहरूको थालनी गरी रजत जयन्ती मनाएको सर्वोदयले बढ्दो जनचाहना, शैक्षिक जागरणको कारण समाजको आवश्यकता र माग पूरा गर्न वि.सं २०४९ सालबाट ११/१२ कक्षा सञ्चालन गर्दैै आएको छ र हाल कक्षा ११/१२ अन्तर्गत शिक्षा र वाणिज्य समूहका विषयहरुको अध्ययन अध्यापन भइरहेको छ । यसै गरी वि.सं. २०११ सालमा जनश्रम, दान र चन्दाबाट निर्माण भएको १२ कोठे भवन जीणर् भई २०६७ साल श्रावण १२ गते सुरु भई हीरक वर्षको अवसरमा २०६९ साल कार्तिक २० गते नयाँ भवनको समुद्घाटन गणतन्त्र नेपालका प्रथम सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यू बाट भएको हो । सो भवन निर्माण कार्यमा गठित भवन निर्माण समितिका अध्यक्ष र अन्य पदाधिकारीहरु सम्मानका पात्र हुनुहुन्छ र श्रम गर्दा गर्दै दिवंगत हुनुभएका श्रमवीर खड्ग बहादुर अधिकारीप्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छौँ । हीरक वर्षकै अवसरमा वि.सं. २०६९ श्रावणबाट सूचना प्रविधिको विकाससँगै समयको माग र वर्तमानको आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत १८ महिने Pre-Diploma in Computer Engineering र वि.स. २०७२ देखि Diploma in Computer Engineering सञ्चालन भइरहेको भएता पनि हाल १८ महिने Pre-Diploma in Computer Engineering कार्यक्रम सञ्चालनमा रहेको व्यहोरा अवगतै छ । सो प्राविधिक विषयहरुको सम्बन्धन ल्याउन सहयोग पुप्याउनुहुने निर्मल न्यौपाने, तत्कालीन वि.व्य.स.अध्यक्ष महेन्द्र अधिकारी तथा वि.व्य.स.का सदस्यहरू, तत्कालिन प्र.अ.ऋषिराम खनिया र शिक्षकहरू एवम्र अन्य अग्रज व्यक्तिहरू धन्यवादको पात्र हुनुहुन्छ ।
विद्यालयका उपजहरु महत्वपूणर् विपुल सम्पदा र निधि हुन् । यस विद्यालयबाट उत्पादित उपजहरु आफ्नो देशको शैक्षिक, प्रशासनिक, वाणिज्य, सुरक्षा क्षेत्र लगायत विदेशका विभिन्न संघ संस्थाका उच्च ओहोदाहरुमा आफ्नो प्रतिभा, कार्यदक्षता र भूमिका प्रस्तुत गरिरहेका ज्वलन्त उदाहरणहरु छन् । यो गौरव विद्यालयको लागि मात्र नभई लमजुङ जिल्ला, गण्डकी प्रदेश हुदै समग्र राष्ट्रकै लागि गर्वको विषय हो । हाल विभिन्न स्थानमा रहेर पनि सर्वोदयसँग निरन्तर रुपमा सहकार्य गरी सर्वोदयको हित चाहने सम्पूणर् व्यक्तित्वहरु साथै नवनिर्मित १२ कोठे पक्की भवनका लागि योगदान दिनुहुने विद्यालयका सम्पूणर् उपजहरु, चन्दादाताहरु, दुराडाँडा सेवा समाज, सर्वोदय सेवा कोष, च्वाइस नेपाल, शान्ति तथा पुनर्निमाण मन्त्रालय, साविक चन्द्रेश्वर गा.वि.स.का साथै चारकोठे भवन निर्माणमा सहयोग पुप्याउनु हुने साविक जिल्ला शिक्षा कार्यालयप्रति विद्यालय परिवार आभार प्रकट गर्न चाहन्छ । यस विद्यालयका वि. व्य.स. पूर्व अध्यक्ष एवं सदस्यहरु, शि. अ. संघ पूर्व अध्यक्ष एवम् सदस्यहरु, पूर्व प्र.अ. हरु, शिक्षकहरु, समाजसेवी, वुद्धिजीजि, राजनीतिक व्यक्तित्वहरुलगायत यस विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षमा सहयोग पुयाउनु हुने सवै व्यक्ति तथा संघसंस्थाहरुप्रति आभार व्यक्त गर्दछौं । जसको अथक प्रयासले यस विद्यालयको भौतिक, शैक्षिक एवम् आर्थिक विकासको गति यहाँ सम्म आइपुगेको छ उहाँहरुप्रति सम्मान व्यक्त गर्दछौँ ।
अन्त्यमा पश्चिम नेपालकै शैक्षिक धरोहरको रुपमा रहेर समाजलाई रुपान्तरण गर्ने क्रममा यस विद्यालयको अग्रणी भूमिका रहेको छ । देशको राजनैतिक सामाजिक, सांस्कृतिक धार्मिक, शैक्षिक तथा आर्थिक विकासको लागी समाजलाई परिवर्तन गर्ने क्रममा यस थलोमा वि.सं. २००६ सालमा भएको हलो क्रान्ति, वि.सं.२०४७ सालमा भएको राजनैतिक परिवर्तनमा यहाँका अग्रजहरुको भूमिका र शैक्षिक क्रान्तिले राष्ट्रको विकास र निर्माणमा निणर्ायक भूमिका खेलेको पाईन्छ । विगत ७२ वर्षको विद्यालयको इतिहासलाई अध्ययन गर्दा सर्वोदय माध्यमिक विद्यालय एउटा सुगन्धित फूल हो । यो लामो शैक्षिक यात्रामा हामीले विद्यालयका लागि के योगदान गर्न सक्छौ भन्ने भावनाको विकास भविष्यका सन्ततिहरुप्रति प्रतिविम्वित गराउन सक्छौ । सर्वोदय हाम्रो आँखाको नानी हो । लगनशील, कर्मठ, परिश्रमी, मिहिनेती र साहसिक अग्रजहरुको सक्रियतामा स्थापना भएको विकासको पुञ्ज यस विद्यालयको संरक्षण र विकासमा निस्वार्थ भावना राखी दृढ अठोटका साथ अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । धन्यवाद !