Welcome to Sarbodaya Secondary School

अध्यक्षको कलमबाट

आदरणीय महानुभावहरू
नमस्कार।

"शिक्षा नै विकासको ज्योति हो ।"


गण्डकी प्रदेश लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं ३, चन्द्रेश्वर, दुराडाँडामा नेपालकै पुरानो एवं ऐतिहासिक विद्यालय श्री सर्वोदय माध्यमिक विद्यालय समुद्री सतहबाट करिब ३५०० मिटर उचाइमा पूर्वमा लमजुङ हिमाल, उत्तरमा अन्नपूर्ण र माछापुछ्रे को दृश्यअवलोकन गर्दै, पोहारिलो ठाउँ, समसितोषण हावापानी अवस्थित नेपालको शैक्षिक धरोहरको रूपमा विभिन्न आरोह अवरोह पार गर्दै शिक्षा क्षेत्रमा गरेको योगदान एवं उन्नति प्रगति र शिक्षा प्रेमी अग्रजहरूको योगदान प्रशंसनीय छ।

वि.सं. २००६ सालको सामाजिक हलोक्रान्ति पछि वि.सं. २००७ सालको राजनीतिक परिवर्तनसँगै दुराडाँडा क्षेत्रका दूरदृष्टि, चेतनशील अग्रजहरू र संस्थापक अध्यक्ष श्रीकान्त अधिकारी, उदयनाथ अधिकारी, सेक्रेटरी विष्णुभक्त पौडेल लगायत विद्यालयको सधैं हितमा रहेर योगदान र महादान गर्नुहुने श्रद्धेय दिवंगत हुनुभएका सबै आत्माहरूप्रति भावपूर्ण हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि राजनैतिक परिवर्तनले वि.सं. २००८ सालमा १२ सदन प्रा.वि.को पृष्ठभूमिमा राखेर वि.सं. २००९ सालको कार्तिक २० गते सर्वोदय मिडिल स्कुल संस्थापक दूरदृष्टि श्रीकान्त अधिकारीको अध्यक्षतामा श्री उदयनाथ अधिकारीबाट सर्वोदय स्कुलको समुद्घाटन भयो । वि.सं २०१४ सालमा मा.वि. हुँदै २०१८ सालमा SLC को सुरु भयो। वि.सं २०४९ सालमा 10+2 सुरुवात हुँदै विक्रम सम्वत् २०५७ सालमा श्री भागवत पुराण लगाई वि.सं २०६२/०४/०७ गते (शिक्षाशास्त्र संकाय) B.ed. सञ्चालन र वि.सं २०३३ सालमा २५ वर्ष पूरा गरी रजत महोत्सव, वि.सं २०६३/११/०६ देखि १३ गतेसम्म स्वर्ण महोत्सव र विक्रम सम्वत् २०६८/०७/२० गते (६०औँ वर्ष) अवसरमा हिरक महोत्सव पार गरी सकेको विद्यालयले वि.सं २०६९ सालमा CTEVT मार्फत TECS अन्तर्गत (१८ महिने) प्री डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ साथै वि.सं २०७२ सालदेखि (३ वर्षे) डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ(DCOM) सञ्चालन गरी अविरल रुपमा सफल विद्यालयको रूपमा अगाडि बढिरहेको छ।

समय अनुसार अङ्ग्रेजी माध्यमद्वारा पढाइ हुने र स्मार्टबोर्डबाट शिक्षण सिकाइमा कक्षा सञ्चालन गर्दै CCTV को माध्यमद्वारा विद्यार्थी, शिक्षकहरूको शैक्षिक गुणस्तर कायम राख्न क्यामरा मार्फत अनुगमन गर्दै थप विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर निर्माण गरी लमजुङ जिल्लाको पहिलो "सर्वोदय पात्रो" नामक Apps निर्माण गरी सञ्चालनमा आइरहेको छ।

उद्देश्य:

महत्वपूर्ण र गौरवमय इतिहास बोकेको यस ऐतिहासिक विद्यालयले आफ्नो छवि जोगाई राख्न मूलकाका लागि योग्य नागरिक उत्पादन गरी शिक्षाको ज्योति अलोकिक गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न क्षेत्र र निकायमा पुगी आफ्नो सीप, कला, क्षमता र दक्षता प्रदर्शन गरी ख्याति कमाइरहेका छन् । यस विद्यालयको गौरवको विषय मात्र नभएर व्यवस्थापनको लागि प्रेरणाको स्रोत पनि विद्यालयको उपजहरू भएकोले इतिहासलाई पृष्ठभूमिमा राखेर अगाडि बढ्नु र आजको सूचना र प्रविधि(IT)को युगमा आइटीको समय अनुरुप सबै कार्यव्यस्ततालाई मध्यनजर गर्दै सर्वोदय मा.वि.को स्थापना कालदेखिकाे इतिहास विद्यालयमा भएका शैक्षिक, आर्थिक, भौतिक विषय र विद्यालयका विभिन्न कार्यक्रम साथै गतिविधि भविष्यमा सबैको अभिलेख रहने गरी थप परिस्कृत र परिमार्जन गर्दै लैजाने उद्देश्यको अनुरुप www.sarbodaya.edu.np नामक वेबसाइट निर्माण गरेको छौँ। मिति २०८१/०८/१७ गते एक औपचारिक कार्यक्रम गरी जिल्ला समन्वय समिति अध्यक्ष श्री वीरबहादुर गुरुङको प्रमुख आतिथ्यमा विद्यालयसँग सरोकार राख्ने पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व शिक्षक, अभिभावक सङ्घ, पूर्व प्र.अ., सुन्दरबजार नगरपालिका वडा नं १० का अध्यक्ष एवं सौभाग्य सदन मा.वि.का अध्यक्ष दीपक ढकाल साथै सुन्दरबजार नगरपालिका वडा नं ३ का अध्यक्ष एवं पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत न्यौपाने लगायत विभिन्न राजनीतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी बीच एक कार्यक्रम गरी समुद्घाटन गरियो।

अन्त्यमा:

विद्यालय शान्ति क्षेत्र र राजनैतिक दवावमुक्त राखी शैक्षिक, आर्थिक र भौतिक सुधारका कार्य गर्न सबै पक्षको उत्तिकै सहयोग र समन्वयको खाँचो पर्दछ तसर्थ विद्यालयलाई समय सापेक्ष विकास गर्दै गुणस्तरीय शिक्षा दिन सबै पक्षहरूको सहयोगको आवश्यक पर्ने हुँदा विद्यालयले चालेका कामहरुमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन र विद्यालयको सर्वोपरि हितको लागि यहाँहरुको सल्लाह सुझाव साथै काम गर्न प्रतिबद्धता सहित साथ र सहयोग गर्नु हुने सम्पूर्ण मा आभार साथै यस कार्य सम्पन्न गर्नमा महत्त्वपूर्ण भूमिका रहनुहुने "दीपक घर्ती" सर र "प्र.अ. कृष्णप्रसाद पोख्रेल" प्रति विशेष धन्यवाद दिँदै व्यवस्थापन पक्षमा सुदृत बनाई गुणस्तरीय युक्त र आधुनिक शिक्षा प्रणाली अनुरूप विद्यार्थी तयार गर्न विद्यालयको सफलताको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी एवं अभिभावकहरू आआफ्नो कर्तव्य र जिम्मेवारी मा जुटी सक्रिय भूमिका निर्वाह गर्नुपर्छ यसैमा सबैको हित छ।

धन्यवाद ! जय सर्वोदय।।


नारायण बहादुर के.सी.
अध्यक्ष विद्यालय ब्यावस्थापन समिति